गढीमाई मेलामा दर्शनार्थीको घुइँचो,ट्राफिक व्यवस्थापनमा जटिल
काठमाडौं -भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ ।
बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।
गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको जानकारी दिएका छन् । जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।
गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया