ओलीले बदले बालुवाटार केन्द्रित दैनिकी, रातिसम्म सिंहदरबारमै
नेपालका प्रधानमन्त्रीहरुले सिंहदरबारको कार्यकक्षभन्दा बालुवाटारको निवासलाई गुलजार बनाउने गरेको भनी आलोचना खेप्दै आएका छन् । चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसमेत यसअघि अपवाद बन्न सकेका थिएनन् । यो नयाँ कार्यकालमा भने ओलीले पुरानो प्रवृत्तिमा बदलाव ल्याएका छन् ।
यसपल्ट चौथो प्रधानमन्त्रीकालमा सल्लाहकार र सचिवालयको टिम चुस्त बनाएर काम थालेका प्रधानमन्त्री ओलीले बालुवाटार निवासभन्दा बढ्ता समय सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिन थालेका हुन् ।
‘रुघाखोकी लाग्दाबाहेक उहाँ सधैं अफिसमै आएर काम गर्नुहुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘पहिले धेरैपल्ट अपरेशन र मिर्गौला प्रत्यारोपण गरेकाले रुघामा चाहिँ बच्नैपर्छ, नत्र ज्वरोस्वरोमा दबाई खाँदै काम गर्दै गरिरहनुभएको छ ।’
बिहीबार राति मन्त्रिपरिषद्को बैठक सकेर सिंहदरबारमा प्रधानमन्त्री ओलीले अरु दुईवटा बैठक भ्याए । उनी अफिसबाट निस्कँदा रातिको १० बजेको थियो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार काठमाडौं बाहिर हुँदा बाहेक ओली औसतमा दिनहुँ ८ घन्टा सिंहदरबारमा बिताइरहेका छन् ।
राति साढे १० बजेसम्म सिंहदरबार बसेर ओलीले कार्यसम्पादन गरिरहेको उनले सुनाए । बालुवाटारलाई निवासकै रुपमा विकास गर्ने, औपचारिक कामहरु कार्यालयमा नै केन्द्रित गर्ने नीति अन्तर्गत यसो गरिएको उनले भने ।
‘कहिलेकाहिँ बाहिर जाने परिस्थिति नबन्दा किताब विमोचन वा केही साना स्केलका कार्यक्रम बालुवाटारमा हुन्छन्, नत्र सबै काम र भेटघाट सिंहदरबारमा नै गर्ने नीति हो,’ मुख्य सल्लाहकार रिमालले भने, ‘पार्टीका बैठकहरु पनि बालुवाटारमा छैनन् । बरु पार्टी अफिसमा सम्भव नहुँदा होटलमा गरेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया